
Hits: 372
जीटीएको निम्ति पहाडमा फोर्स सरकारको शान्तिमा विमलको आपत्ति
हाइपावर कमिटीको रिपोर्ट आइपुग्ने बित्तिकै ममता व्यानर्जीको सरकारले पहाडमा तीन प्लाटुन फोर्स सिलगढीमा ल्याएर राखेको छ। यसले स्पष्ट के पारेको छ भने सरकारलाई रिपोर्टमाथि आपत्ति हुन्छ वा विरोध हुन्छ भन्ने कुरा थाहा थियो। यसले अर्को कुरा सरकारले जानिबुजी नै मोर्चालाई 396 को साटो 5 वटा मौजा दिएको हो। जिल्ला पुलिस अधिक्षक कुनाल अग्रवालसित फोर्सको औचित्यबारे बुझ्न चहॉंदा तिनले भने, बङ्गाल सरकारले शान्ति बनाइ राख्नको निम्ति तीन प्लाटुन फोर्स ल्याएको छ। अहिलेलाई सिलगढीमा राखिएको छ। विमल गुरूङले ममता व्यानर्जीले यो फोर्स हुनेमा असन्तोष व्यक्त गरेका छन्। तिनलाई लागेको छ ममता व्यानर्जीले हाइपावर कमिटीको रिपोर्ट जबरजस्ती मान्न दबाउ दिन नै फोर्स हुलेकी हुन्। दार्जीलिङमा भएको पार्टी सभामा तिनले भने, स्टडी फोरमले कुनै आपत्ति हुँदैन भनेर जीटीएको सम्झौता भयो। हाइपावर कमिटी पनि माग्यो। कमिटीको रिपोर्टमा कुनै पनि आपत्ति हुँदैन भनेर सम्झौता पनि गर्न लगायो। मैले 19 वटासम्म मौजा त दिन्छ होला भनेर विश्वास गरेको थिएँ। तर 5 वटा दियो। हाम्रा चेलीहरूको रगतले भिजेको जमिन पनि जीटीएमा पर्न सकेन। ममता व्यानर्जीलाई हामीले विश्वास गरेका थियौं। बङ्गभङ्ग होवेना भन्दा पनि चुप बस्यौं। हामी नामर्द थिएछौं। अहिले जबरजस्ती गर्न फोर्स हुल्दैछ। तिनी जुन फोर्सको विरोध गरिरहेका थिए, त्यही फोर्सको माग एक समय तिनैले गरेका थिए। जो र्याफ फोर्स अझ पनि पहाडमा रहेको छ। पहाडमा अन्य पार्टीहरूको कार्यक्रम तीब्र भइरहेको बेला अनि छत्र सुब्बाले गोर्खाल्याण्डको आन्दोलन गर्नेबेला विमल गुरूङले नै पहाडमा अशान्ति भइरहेको भन्दै फोर्स हुल्ने माग गरेका थिए। अहिले हाइपावर कमिटीको रिपोर्ट आउने वित्तिकै हुलेको फोर्स तिनलाई मोर्चालाई विभाजन गर्ने सरकारी नीति लागेको छ। तिनले भने, जस्तै फोर्स हालुन्, हामी जीटीएमा जॉंदै जॉंदैनौं। बरु कोर्ट जान्छौं। अहिले तराई र डुवर्सको मन अशान्त छ। पखालो चलेको जस्तो भएको छ डुवर्समा। हाम्रो चित्त बुझाउन सक्दैन भने सरकारले हजारपल्ट सोंच्नुपर्छ। केही भइहाल्यो र जनता र नेताले छोड्यो भने जीएलपी लिएर आन्दोलन गर्छु भनेको थिएँ। जङ्गल जानुपर्छ भने जान्छु। जीएलपी छँदैछ। अहिले जबरजस्ती मान्नु भन्दैछ। ममतालाई अनुरोध छ, श्यामल सेनको रिपोर्ट गोजीमा राख्नुहोस्। सरकारले मोर्चालाई दबाउमा राख्न अनेकौं कुटनीति चालिसकेको स्पष्ट भइरहेको छ। शान्तिको नाममा हुलिएको फोर्समा विमल गुरूङले आपत्ति जनाइरहेका छन्। तर मोर्चाले यति ठूलो धोकाको विरोधमा सडक उत्रिएन। विश्लेषकहरू अनुसार सरकारले मोर्चा सडकमा उत्रिए पुरै बन्दोबस्त गरेर बसेको कुरा मोर्चालाई थाहा छ। यसकारण हाइपावर कमिटीको रिपोर्टको विरोध गर्ने तर जीटीए नै खारेज गर्ने हिसाबमा छैनन् मोर्चाका बुद्धिजीवीहरू। विमल गुरूङले जेसुकै भनुन् मोर्चाका बुद्दिजीवीहरूलाई कुनै मतलब छैन। कुनै पनि हिसाबमा केही मौजा अन्तरभुक्त भएमा जीटीएको चुनाउमा जाने दाउमा छन् मोर्चाका बुद्दिजीवीहरू। तर विमल गुरूङले यति सबै भइसकेर पनि डुवर्सका जनतालाई आश्वासन दिँदै मागेको मौजा नपसे जीटीए चुनाउ नगर्ने अनि मोर्चाले मागेकै मौजाहरू नदिए जीटीएको सम्झौता नै खारेज गर्ने धम्की दिएका छन्। तिनको धम्कीमा कति ताकत छ, 16 जूनमा नै स्पष्ट हुनेछ।
Courtesy: http://rongotimes.com