
Hits: 455
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको चुनाउमा 17 वटा आसनहरूबाट गोर्खा जनमुक्ति मोर्चालाई चुनौती दिइरहेको तृणमूल कंग्रेसले अचानक चुनाउ मैदानबाट हट्ने घोषणा गरेर पहाड़को राजनीतिमा नयॉं अड़कलबाजीको दौर शुरू गरिदिएको छ। तर विज्ञहरूले तृणमूलको चुनाउबाट हट्ने निर्णयलाई अचानक नभएर पूर्व नियोजित र पहाड़ केन्द्रित राजनैतिक विस्तारको एउटा अंगकै रूपमा हेरेको छ। जीटीएको चुनाउलाई लिएर मोर्चा पक्ष सकारात्मक रहेकै समय तृणमूलले आफ्नो प्रार्थी खड़ा गरेर मोर्चालाई चुनाउमा जानै पर्ने बाध्यता सिर्जना गर्नुपर्ने स्थिति पनि नरहेको उनीहरूको मत छ। सरोकारवालाहरू अनुसार जीटीए चुनाउमा आफ्नो हार निश्चित देखेर तृणमूलले मैदान छोड़ेको होइन न त मोर्चा प्रमुखको अनुरोध मानेर नै आफ्नो प्रार्थीहरूलाई पछि हट्ने निर्देश तृणमूलले दिएको हो।
मुख्यमन्त्री ममता व्यानर्जीको यो कदमलाई जानकारहरू भोलिको दिनमा पहाड़मा तृणमूलको राजनैतिक विस्तारको निम्ति चालिएको दुरागामी कदमको रूपमा व्याख्या गर्छन्। उनीहरू अनुसार यदि तृणमूललाई मोर्चासितको आफ्नो सम्बन्ध बिग्रन सक्छ भन्ने कुराको उत्तिकै चिन्ता हुँदो हो त सर्वप्रथम जीटीए चुनाउमा खुट्टा नै हाल्ने थिएन। दवाबको राजनीति मात्रै गरेको भए पनि समय सीमा अघि नै आफ्नो सबै प्रार्थीहरूलाई नामाङ्कन फिर्ता गराउनसक्थ्यो।
तर तृणमूलले यसो गरेन। बरू अन्तिम समयसम्म सबै 17 जना प्रार्थीहरूलाई तृणमूलले चुनावी मैदानमा उतारी राख्यो। उनीहरूलाई स्वेच्छाले पनि पछि हट्न दिएनन्। उल्टै व्यक्तिगत एवं राजनैतिक दवाबबाट मुक्त राख्न आफ्ना प्रार्थीहरूलाई नामाङ्कन फिर्ता गर्ने अन्तिम मितिसम्म सबै सम्पर्कबाट वञ्चित गराएको जानकारहरू बताउँँछन्। बाहिरी सम्पर्कबाट पूर्णतः वञ्चित गराएर तृणमूलले आफ्नो प्रार्थीहरूलाई चाहेर पनि नामाङ्कन फिर्ता गर्न दिएनन्। यसलाई पनि विज्ञहरू तृणमूलको राजनैतिक चालको रूपमा व्याख्या गर्छन्। अहिले आएर आफ्नो प्रार्थीहरूले चुनाउ प्रचार नगर्ने घोषणा गरेर मोर्चा खेमालाई निर्विरोध बनाएको जस्तो देखिए पनि आफ्नो राजनैतिक स्वार्थ हेरेर मात्र तृणमूलले यस्तो कदम चालेको राजनैतिक विश्लेषकहरूको मत छ। किनकि चुनाउमा उत्रिएकै भए पनि तृणमूलले विजयी हासिल गर्छ भन्ने कुनै ग्यारेण्टी थिएन। तृणमूल नेतृत्वहरूलाई पहाड़मा आफ्नो यथास्थितिको पूर्व ज्ञान थियो नै । दुइचार दिनको राजनैतिक कार्यक्रमको भरमा दलको गरिमालाई दाउमा लगाउन तृणमूलले पक्कै चाहेन। चुनाउमा हार बेहोर्नु परे अलिअलि भएको समर्थन र भावी सम्भावना पनि पहाड़बाट गुम्छ भन्ने ज्ञान पनि तृणमूल नेतृत्वहरूलाई नभएको होइन। यसैले चुनाउबाट आफ्नो प्रार्थीहरू हटाएर मोर्चा नेतृत्वहरूलाई खुशी पार्ने काम पनि गरे संगसंगै राज्य सत्तामा आसीन तृणमूल दलको प्रभाव र गरिमालाई कृतिम रूपमा भए पनि पहाड़मा जोगाइराख्न सफल पनि बनेको विज्ञहरू बताउँछन्। अर्कोतिर जीटीए सभाको चुनाउमा तृणमूलले आफ्नो प्रार्थीहरू नउठाएको भए अन्य दलहरूले नामाङ्कन भर्ने आँट सम्म गर्दैन थिए भन्ने पर्यवेक्षकहरू ठान्छन्। विपक्षीहरूको निम्ति नामाङ्कन भर्ने मार्ग प्रशस्त गर्दै तृणमूलले पहाड़मा गणतन्त्र रहेको सन्देश दिनसम्म भ्यायो। योसंगसंगै चुनावी वैधानिकतामाथि उठ्नसक्ने प्रश्नहरूको उत्तर पनि दियो। जसले गर्दा पहाड़को शक्तिशाली दल गोजमुमोलाई जीटीएको आसनमा निर्विरोध बनाउँदै पहाड़मा बड़दै गएको आफ्नो प्रभावलाई पनि यथावत राख्न तृणमूल सफल बनेको विज्ञहरू बताउँछन्। यदि मोर्चाको अनुरोध नै मानेको भए तृणमूले नांमकन पहिल नै फिर्ता लिने थियो। चुनाव गराएर अघिबाटै ऋृणमा डुबेको राज्यलाई थप ऋृणको भारी बोकॉंउने नै थिएन। चुनाव गराएर आफ्नो वास्तविक प्रभाव पॉंहड़मा कति रहेछ़? त्यो जॉंच्न तृणमूल सफल भएको छ भने चुनाव प्रचार नगरेर मोर्चालाई पनि खुसी पार्न सफल भए। यही प्रभावलाई पञ्चायत चुनाउसम्म जीउँदो राख्नसके पञ्चायत चुनाउमा यसले सकारात्मक प्रभाव ल्याउँछ भन्ने बुझेर नै तृणमूलले यो रणनीति अप्नाएको जानकारहरू बताउँछन्।
Courtesy: www.rongotimes.com