
Hits: 466
लामो अन्तरालपछि आफ्नो मौनतालाई तोड़्दै 41 नम्बर निम्बोङ गीतडाब्लिङ समष्टिका स्वतन्त्र उम्मेद्वार सञ्चबीर सुब्बाले जनाकांक्षालाई लत्याउन नसक्ने भएकै कारण चुनावी मैदान छोड़्न नसक्ने स्पष्ट बताएका छन्। स्थापनाकालदेखि आजसम्म गोजमुमोको सम्पूर्ण निर्देशलाई पालन गरेपनि वाध्यतावश मोर्चा प्रमुखले चुनाउलाई केन्द्र गरेर दिएको निर्देश पालन गर्न नसक्ने भएको जनाउँदै उनले भने- आजसम्म जुन जनताले साथ दिँदै आइरहेका छन् उनीहरूलाई लत्याएर म बाहिर निस्किन सक्दिनँ। आम जनताको समस्या नै आज मेरो पहिलो प्राथमिकता भएको छ। गोजमुमोलाई साह्रो पर्दा जहिले पनि यो छात्ती अघि थियो भने भविष्यमा पनि रहने छ। मोर्चालाई कुनै कठिनाइ आए जनतासंगै म पनि अघि आएको हुनेछु। तर सॉंढे चारवर्षको आन्दोलनमा मलजल गरेर जुन फूल फुलाउन लागेका छौं,त्यसलाई कसैले चुँढाएको हामी चाहँदैनौं। जुन जनताले माली बनेर बिरूवा उमारेका छन्,त्यसलाई फुलेको र फलाएको हेर्न हामी चाहन्छौं। यो क्षेत्र अत्यन्त ग्रामीण क्षेत्र रहेको छ।आज जुन जनताको घर-घर म पुगें,प्रत्येक ठाउँमा नै समस्याको पर्खाल भेटेको छु। कहीँ सड़क छैन। कतै स्कूल छैन। कतै पिउने पानी छैन। आममानिसहरूको निम्ति प्राथमिक स्वास्थ्य केन्द्रसम्म छैन।बिजुली छैन। गरीब जनताको भाग्य बनाउने समयमा उनीहरूलाई धोखा दिन म सक्दिनँँ। एकजना नेतृत्वको हैसियतले पनि म जनकांक्षाको विपरीत फैसला लिन सक्दिनँ। मङपङदेखि निम्बोङ पाब्रिङटार लगायत गीतडाब्लिङका प्रत्येक ग्रामीण क्षेत्रमा मैले समस्यैमात्र देखेको छु। अब जनताको आङमा घाम लाग्नुपर्छ। यो क्षेत्रको समस्या त्यही मानिसले मात्र हल गर्नसक्छ,जो क्षेत्रसंग परिचित छ। किनकि एउटा गाउँ पुग्न सड़क छोड़ेर पॉंच घण्टा पैदल जानुपर्ने स्थिति यहॉं रहेको छ। जसबारे बाहिरका मानिसहरू पूर्ण अनभिज्ञ छन्। आममानिसको समस्यालाई हेरेर नै मैले व्यक्तिगत स्वार्थ र व्यक्तिगत निर्णयलाई पछि छाड़िदिएको हुँ।जीटीए मार्फत् नै यी समस्याको हल गर्नुपर्ने भएकोले नै मोर्चा प्रमुखको आज्ञालाई पनि आफूले यसचोटि मान्नु नसकेको सुब्बाले बताए। घरभित्रको यो झमेलालाई विपक्षीले उल्टो अर्थ लगाएर गलत प्रचार गर्नु नहुने जनाउँदै उनले भने- मोर्चा वा मोर्चा प्रमुख कसैसंग पनि मेरो कुनै गुनासो छैन। जुन दलको निम्ति सॉंढे चारवर्षसम्मको आन्दोलनकालमा प्रत्येक कुरा त्यागेर लागि परें,त्यो दललाई कुनै पनि समय अप्ठ्यारो पर्दा जनतासंगै म पनि मौन रहन सक्दिनँ्। तथापि यो चुनावी कुरा घरभित्रको विषय हो। समयले अवश्यै यसलाई सुल्झाउने छ ।आजसम्म मोर्चाको प्रत्येक निर्णयलाई मानिलिए तापनि यस निर्णयलाई वाध्यतावश आफूले स्वीकार गर्न नसकेको जनाउँदै सुब्बाले जनहितकै निम्ति चुनाउ मैदान छोड़्न नसक्ने स्पष्ट पारेका छन्। आफ्नो मूल मुद्दा नै जनहित र क्षेत्र विकास रहेको जनाउँदै सुब्बाले भने- नयॉं परिकल्पनाले क्षेत्रको विकास गर्नु आवश्यक छ। अविकाशित यस क्षेत्रलाई जीटीए मार्फत् मोडल समष्टि बनाउने लक्ष्य राखेको छु। आम जनताको साथ यस्तै रहे सो सम्भव अवश्यै हुने दावी पनि उनले गरेका छन्।
Courtesy: www.rongotimes.com