
Hits: 386
(छुदेन काविमो)ः पूर्वोत्तरको घटनापछि दक्षिण भारतमा फैलिरहेको साम्प्रदायिक आतंकले हाल देश नै हल्लिरहेको छ। दक्षिण भारत छोड़ेर लगातार पूर्वोत्तर क्षेत्रका मानिसहरू घर फर्किरहेको घटनालाई आज देशका राष्ट्रिय सुरक्षा सल्लाहकार समितिका सदस्य डा. महेन्द्र पी. लामाले पनि दुर्भाग्यजनक रहेको बताए। कालेबुङ आइपुगेका डा. लामाले आज पत्रकारहरूसंग कुरा गर्दै उक्त घटना देशकै निम्ति गम्भीर बनेको बताए। दक्षिण भारतका विभिन्न क्षेत्रबाट हाल पूर्वोत्तरका अन्य मानिसहरूसंगैे नेपालीहरूको पनि घर फर्किने क्रम जारी रहेको छ। होटलमा कार्यरत सदस्यदेखि लिएर विद्यार्थीहरूको पनि घर फर्किने क्रम यथावत लागेको छ। सोही काण्डलाई केन्द्र गर्दै डा. लामाले आज भने-उक्त विषय सोचनीय बनेको छ।
राष्ट्रमा यस्तो काण्ड हुनु हुँदैन। हामी सबै भन्दा पहिले भारतीय हौं। यो विषयलाई पहिले सोचेर मात्र अरू कुरा सोच्नु पर्छ। यो स्थिति प्रतिदिन गम्भीर बन्दै गइरहेको छ। हामीले क्षेत्रीय र बाहिरको कुरा गर्नु हुँदैन। हाम्रा नानीहरू आज देशको चारैतिर छन्। दार्जीलिङमा कसैलाई केही भए भोलि देशको अन्य भागमा रहने हाम्रा विद्यार्थीहरूलाई अप्ठ्यारो पर्नसक्छ। यो सबको निम्ति काम गर्ने जिम्मा साधारण मानिसको होइन। सरकारले यसको निम्ति कार्य गर्नेछ। देशका प्रधानमन्त्री र कर्णाटकका मुख्यमन्त्रीले पनि ठोस काम गर्ने आश्वासन दिइसकेका छन्। सानो समूह र राजनैतिक उद्देश्यप्रेरितहरूले उक्त घटना घटाएको हुन सक्छ। सरकारले गर्नु पर्ने कतिपय कार्य नगरेको कारण पनि यो घटना भइरहेको छ। वैद्य र अवैद्य छुट्याउने जिम्मा सरकारको हो। सरकारले उक्त काण्डलाई चॉंड़ो सुल्झाउनु पर्छ।
सरकारले गर्नुपर्ने कतिपय काम नगरेको कारण नै आज राष्ट्रमा यो स्थिति आइपरेको उनले बताए। डा. लामाले भने- आम मानिसलाई अफवाहको पछि नलाग्ने आह्वान हामी गर्छौं। यस्तो नराम्रो काम गर्नेहरूलाई खुट्याएर निकाल्नु पर्छ। यति बेला हामी असम,कर्नाटक र दार्जीलिङको भनेर सोच्नु हुँदैन। हामी भारतीय हौं,यही कुरा पहिले सोच्न आवश्यक छ। यो स्थितिमा दुःख मान्ने काम छैन। हाम्रा विद्यार्थी र नानीहरूको कुनै दोष छैन। न त उक्त काण्डमा कुनै हात रहेको छ। यो एउटा सानो समूहले स्वर्थ प्रेरित रूपमा उठाएको दंगा हो । अर्कोतिर दार्जीलिङको वर्तमान स्थितिबारे प्रश्न गर्दा उनले भने- पहाड़मा विकास भएको छैन। झण्डै तीस वर्षदेखि यहॉं विकासका कार्यहरू हुन सकेको छैन। सबैलाई सामुहिक रूपमा लिएर विकास गर्न आवश्यक छ। विशेषज्ञ र पेशागत रूपमा काम गर्नेहरूलाई लिएर विकासका कार्य हुन आवश्यक छ। इमान्दारीतापूर्वक कार्य हुनुपर्छ। योजनावद्ध विकासका कार्य हुन जरूरी रहेको जनाउँदै उनले थपे-मूल मुद्दा गोर्खाल्याण्ड हो। यसलाई नलत्याइ विकासका कार्य हुनु आवश्यक छ। स्मरण गराइन्छः हप्तादिन अघिदेखि शुरू भएको आतंकले हाल दक्षिण भारतमा रहने पूर्वोत्तरका मानिसहरूले ठाउँ छोड़्ने कार्य जारी राखेको छ। अफवाहकै कारण यस्तो काण्ड भएको जनाउँदै सरकारले ग्रुप एसएमएसलाई पनि प्रतिबन्ध लगाएको छ। तैपनि दक्षिण भारतबाट मानिसहरूले घर फर्किने क्रम जारी राखेका छन्। जसको चपेटमा दार्जीलिङ र सिक्किमक्षेत्रका नेपालीहरू पनि परिरहेको देखिएको छ।
Courtesy: www.rongotimes.com